
उपत्यकाको तीन जिल्लामा आजदेखि विशेष पोलियो खोप अभियान सञ्चालन हुँदैछ । आजदेखि साउन १२ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन हुन् लागेको हो ।
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भएपनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा पर्ने भएकाले विशेष पोलियो खोप अभियान संचालन गर्न लागिएको हो । नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्यरूपमा पोलियोविरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यता काठमाडौँ महानगरपालिकाले पाँच वर्षमुनिका बालबालिकाका लागि पोलियो खोप अभियान संचालन गरिएकाले भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको बताएको छ भने महानगर क्षेत्रभित्र ६३ हजारबढी बालबालिका रहेको अनुमान गरिएको छ ।