
सुनकोशी नदीमा पुल बनेपछि डुङ्गा चड्नुपर्ने वाध्यताको अन्त्य भएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा झोलुङ्गे पुल बनेपछि डुङ्गा चड्नुपर्ने वाध्यताको अन्त्य भएको हो ।
उक्त स्थानमा पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त ३ करोड ५० लाखको लगानीमा पुल निर्माण भएको हो । पुलको वारीपारी कच्ची सडक पनि निर्माण भएकाले यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएको बताईएको छ ।
यसअघि उक्त स्थानका स्थानीयले पुलको अभावमा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए । अब पुल सञ्चालनमा आएपछी साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साबिकको डिकुवा–२ टारगाउँका बासिन्दालाई जोखिम मोलेर डुङ्गा चढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।