
मनसुन शुरुभएसंगैको लगातारको वर्षाका कारण आएको बाढीपहिरोले राजमार्गसहित विभिन्न ग्रामीण सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार बाढी र पहिरोका कारण १४ वटा राजमार्ग तथा सडकखण्डमा क्षति पुगेको बताइएको छ ।
क्षति पुगेका सडक खण्डमध्ये ५ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा आएका छन् । बाढीका कारण गत असार ६ गतेदेखि अवरुद्ध भएको संखुवासभाको मकालु गाउँपालिका–३, स्थित उत्तर दक्षिण कोशी राजमार्ग अझै खुलेको छैन । उक्त राजमार्ग वर्षाभरि नखुल्ने प्रहरीले जनाएको छ ।
त्यस्तै, गएरातिदेखिको वर्षाले सुनसरीको बराहक्षेत्र नगरपालिका–१, धनसारेस्थित चतरा–बराहक्षेत्र भित्री सडकखण्ड पनि अवरुद्ध भएको छ । यहाँ वर्षा जारी रहेकाले सडकमा खसेको पहिरो हटाउन समस्या भएको बताइएको छ ।
दोलखाको कालिन्चोक नगरपालिका–४, झामार्सीस्थित चरिकोट सडकखण्ड, म्याग्दीको बेनी–दरवाङ र बेनी–जोमसोम सडकखण्ड, बागलुङको कालीगण्डकी करिडोर र प्युठानको नौबहिनी गाउँपालिका–१, हाम्पालस्थित स्याउलीबाग्दुला सडकखण्ड समेत बाढीपहिरोले अवरुद्ध भएका छन् ।
त्यसैगरि दाङको घोराही तुलसीपुर सडकखण्ड, रुकुम पश्चिमको आठ बिसकोट नगरपालिका–११, खरखरेस्थित भेरी करिडोर पनि बाढीपहिरोले अवरुद्ध भएको छ । अवरुद्ध भएका राजमार्गहरु खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।