
नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ । काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी ठगुन्नाको एपीएफमा सिपाहीबाट सहायक हवल्दारमा बढुवा भएको हो ।
बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । यसअघि २०८१ साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न काभा वुमन्स च्यालेन्ज कपमा ठगुन्नाले उत्कृष्ट प्रदर्शन गरेकी थिईन ।
यसअघि पनि २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दारमा पदोन्नति गरिएको थियो भने ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सम्मान गरेका थिए ।