
साह्रै लाजमर्दो भएपछि सार्क महासचिवको पटक पटकको अनुरोधपछि परराष्ट्र मन्त्रालयले असोज १० मा हुने न्यूयोर्क बैठकमा सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि पहल सुरु गरेको छ । नेपालले जतिसुकै पहल गरे पनि जबसम्म भारत नरम हुँदैन, सार्कको बैठक अथवा शिखर सम्मेलन हुने सम्भावना छैन ।
भारत पाकिस्तानसँगको तनावकै कारण सार्कलाई मार्न चाहन्छ । यसैले भारतले बिमिस्टेकलाई सकृय पारेको छ ।
२०१४ मा नेपालमा सार्क सम्मेलन भएपछि नेपाल अध्यक्ष छ, अध्यक्षको नाताले नेपालले भारतकै दबाबका कारण सार्कको कुरा उठाउन सकेको थिएन ।
यतिबेला नेपालले सबै सार्क सदस्य राष्ट्रहरुलाई पत्राचार गरेर ७९औं राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा सार्क मन्त्रीस्तरीय बैठकका लागि आग्रह गरेको छ । भारतले अझे ग्रिन सिग्नल देखाएको छैन ।
यसकारण सार्कले पुनर्जिवन पाउला ? प्रश्न अनुत्तरित नै छ ।
परराष्ट्रले आधिकारिक रुपमा प्रस्ताव गरेको जनाएको छ । यही सन्दर्भमा गत मंगलवार परराष्ट्रमन्त्री डा.आरजु राणाले सार्क महासचिव मोहम्मद गुलाम सरवरसँग छलफल गरेकी छिन् ।
होला त १९औं सार्क शिखर सम्मेलन ? १९८५ मा स्थापना भएको सार्क यतिबेला बम्हनालमा छ भन्दा हुन्छ ।
अफगानिस्तानलाई निम्तो नदिने सहमतिले पनि सार्क सम्मेलनबारे प्रश्न उठ्ने बताइन्छ ।
पाकिस्तानले २ महिनाको समय पाए सार्क सम्मेलन गराउन सकिने जानकारी नेपालस्थित राजदूतमार्फत दिइसकेको छ भने भारत मौन रहेको छ । परराष्ट्र मन्त्री भारत भ्रमणमा जाँदैछिन्, यतिबेला उनले भारतलाई सहमत गराउन प्रयास गर्ने भनिदैछ ।