
सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएपछि एकतर्फी सञ्चालन हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालन भएको छ । ईच्छाकामना गाउँपालिका–६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएकोमा अहिले मर्मत भएपछि दुईतर्फी सडक सञ्चालनमा आएको हो ।
आइतबार राती करिब साढे ७ बजेतिर ईच्छाकामना गाउँपालिका–६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो । सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेपछि सडक अवरुद्ध हुन पुगेको थियो ।
यसअघि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहानदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।