Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपाली कामदारको कोरियामा माग बढ्यो

०६ आइतबार , आश्विन २०८१२ बर्ष अगाडि

नेपाली कामदारको कोरियामा माग बढ्यो

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कामदार छनोट गर्ने क्रममा नेपाली कामदारको माग बढेको छ । इपीएस पास गरेका युवाहरुले छिटो कोरिया पठाइदिन सरकारसँग सहजताको माग गरेका छन् । कोरियाले संख्या बढाउने, नेपालले अल्झाउने गर्दा युवाहरु आक्रोसित बनेका छन् ।  कोरियाको ह्युमन रिसोर्स डिपार्टमेन्ट एचआरडी कोरियाले सन् २०२४ को दोस्रोपटकको विदेशी कामदार छनोटमा नेपालीलाई प्राथमिकता दिएका हुन् ।
यसभन्दा अघि १६ मुलुकबाट कामदार छनोट गर्दा पाँचौं स्थानमा परेको नेपाल अहिले पहिलो स्थानमा पुगेको छ । कोरियाको एचआरडीबाट शिप बिल्डिङसहित उत्पादनमूलक क्षेत्रमा लगभग दुई हजार १०० भन्दा बढी कामदारको माग जारी भएको शाखाकी निर्देशक मैयाँ कँडेलले बताइन् । उनका अनुसार अघिल्लोपटक १३ सय जनाको मात्रै माग जारी भएर नेपाल पाँचौं स्थानमा परेको थियो ।
‘कोरियाका रोजगारदाताहरुले उत्पादनमूलक, कृषि, निर्माणसहित विभिन्न सेवामूलक क्षेत्रका लागि अन्यभन्दा नेपालीहरुलाई प्राथकितामा राखेको देखिन्छ,’ उनले भनिन्, ‘पहिलो खेप आएको माग इस्यु अलि निराशाजनक थियो तर अहिले अन्य देशभन्दा अगाडि भएको जानकारी उत्साहित नै छौं ।’ कोरियाले अघिल्लो वर्ष पनि विदेशी कामदार लैजाने क्रममा सबैभन्दा बढी नेपालीहरुलाई छनोट गरिएको उनले जानकारी दिइन् ।
इपिएसमार्फत सन् २०२३ मा १९ हजार २१४, सन् २०२२ मा १४ हजार जना नेपाली कामदार रोजगारीका लागि कोरिया गएको शाखाको तथ्यांकले देखाएको छ । यो वर्ष २० हजार बढी नेपालीले कोरियामा रोजगारीको अवसर पाउने अनुमान गरिएको छ । सन् २००८ बाट कोरियाले नेपाली कामदार लैजान सुरु गरेयता एक लाख बढी नेपालीहरु कोरिया गइसकेका छन् ।