
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै नेता तथा कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
उक्त पार्टीका गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरू भेला भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘सरकारको षड्यन्त्रविरुद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
पार्टी सभापति लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै सुरु भएको प्रदर्शन तथा विरोध कार्यक्रम निरन्तर चल्ने गण्डकी प्रदेश सभापति गौतमले बताएका छन् । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेका छन् ।
यसअघि सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो । समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीवी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।
उक्त प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि हिँजो साँझ जोशीलाई काठमाडौँ बाट पक्राउ गरि कास्की पुर्याइएको छ ।