
असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको विनासकारी बाढी-पहिरोमा १ सय १२ जनाले ज्यान गुमाएका छन् । बाढी-पहिरोमा परि देशको बिभिन्न स्थानमा १ सय १२ जनाको ज्यान गएको हो ।
विपद्ले देशभरि ठूलो जनधनको क्षति पुर्याएको छ भने बाढीपहिरो र डुबानका कारण शनिबार रातिसम्म ६८ जना बेपत्ता भएका भने विपद्का कारण १ सय भन्दा बढी व्यक्ति घाइते भएको बताईएको छ ।
काठमाडौं उपत्यकामा शनिबार ५४ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार २४ घण्टामा ३ सय २३ मिलिमिटर पानी मापन गरेको जुन ऐतिहासिक रूपमा उच्च मानिएको छ ।
प्राप्त पछिल्लो विवरणअनुसार बाढी-पहिरोमा परि काभ्रे जिल्लामा सबैभन्दा धेरै ३४ जनाको ज्यान गएको छ । त्यस्तै ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२ र मकवानपुरमा ७ पाँचथर र भक्तपुरमा ५/५ जनाले ज्यान गुमाएका छन् भने सिन्धुपाल्चोक ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी अविरल वर्षासँगै आएको विनासकारी बाढी-पहिरोमा परि बेपत्ता भएकाहरूको खोजीकार्य जारी छ भने सुरक्षाकर्मीहरू उद्धारमा जुटेका छन् ।