
प्रतिकूल मौसमका कारण अवरुद्ध बनेको हवाइ सेवा सञ्चालन भएको छ । शुक्रबार र शनिबार ४००भन्दा बढी उडान रद्द भएकोमा आजदेखि मौसम अनुकुल भएसँगै हवाइ सेवा सञ्चालन भएको हो ।
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाइ सेवा सञ्चालन भएको बताईएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आइतबार राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ आईएफआर प्रणालीमा उडान अनुमति दिइएको छ ।
प्रतिकूल मौसमका कारण रोकिएका हवाइ सेवा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १५० देखि १६० उडान हुने गरेको छ ।
यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेकोमा अहिले सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेका छन् ।