Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ सार्वजनिक

१९ शनिबार , आश्विन २०८१एक बर्ष अगाडि

सुमन वर्षाको कथाकृति 
‘अभ्यन्तर’ सार्वजनिक

 २०८१ असोज १८, काठमाडौं । अनेसासकी केन्द्रीय सदस्य आख्यानकार सुमन वर्षाको कथाकृति "अभ्यन्तर" हिजो सार्वजनिक भयो । प्रज्ञाभवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. अभि सुवेदी, समालोचक डा. ज्ञानु पाण्डे, आख्यानकार नयनराज पाण्डे, अतिथि जगत तिमिल्सिना, पशुपति बहुमुखी क्याम्पस प्रमुख विनोदचन्द्र पन्त, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलले संयुक्त रुपमा सार्वजनिक गर्नु भयो । 

प्रमुख अतिथि सुवेदीले कथाकार सुमन वर्षाको कथाकारिताबारे चर्चा गर्दै वर्षाको कथालेखन एक विशिष्ट खालको रहेको र कथामा उनले नयाँ विषयलाई ल्याउने प्रयास गर्नु स्तुत्य रहेको बताउनु भयो । अङ्ग्रेजी विषयमा प्राध्यापन गर्ने सुमन वर्षाको कथा सरसर्ती पठन गर्दा सरल लागे पनि यी कथाहरूमा पाश्चात्य कथालेखनको प्रभाव भेटिने पनि सुवेदीले बताउनु भयो । वर्षाका कथामा सामाजिक विषयका साथै विज्ञान कथा, पर्यावरणीय विषयको कथा र रोबोटिक कथा पनि समावेश भएकाले सङ्ग्रह विशेष बनेको र कतिपय कथा फरक दृष्टिकोण र पृथक् शैलीका साथ लेखिएको बताउँदै कथामा वर्षाले आफ्नो लेखकीय स्वतन्त्रताको उच्च प्रयोग गरेकी छन् भन्नू भयो । डा. ज्ञानू पाण्डेले सुमन वर्षाले समाजकै विविध विषयवस्तुमाथि कथा लेखेर यथार्थ चित्रण गरेको बताउनु भयो । पाण्डेले कथाकार वर्षाका यस सङ्ग्रहका कथाहरूमा समाजको राम्रो चित्रण रहेको उल्लेख गर्दै साहित्यकार समाजको मनोचिकित्सक हुन्छन् तिनले समाजका अन्तरङ्ग घाउलाई साहित्यमार्फत उजागर गरेर त्यसको उपचारको बाटो देखाइदिन्छ भन्नू भयो । 

यसैगरी आख्यानकार नयनराज पाण्डेले वर्षाको कथासङ्ग्रहमाथि आफ्नो पाठकीय मन्तव्य राख्दै लोकार्पित कृतिभित्रका कतिपय कथाहरू फरक विषय र शैलीको भएको बताउनु भयो । कथाकार वर्षा एक साहसिक कथाकार हुन् भन्दै पाण्डेले वर्षाले आफ्ना कथाहरूमा फरक विषय, विविध कथावस्तुलाई सहज रूपमा चित्रण गरेको बताउनु भयो । शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलको सभापतित्वमा सप्पन्न सो कार्यक्रमको सहजीकरण साहित्यकार रन्जना निरौलाले गर्नु भएको थियो ।