
मुलुकभर डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्कअनुसार देशभर १९ हजार ५ सय ९९ जनामा डेङ्गु सङ्क्र देखिएको छ ।
देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ भने डेङ्गु सङ्क्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । अहिलेसम्म ७६ जिल्लामा डेङ्गु फैलिएको महाशाखाले जनाएको छ ।
अहिले काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमण फैलिएको छ भने डेङ्गु सङ्क्रमणबाट हालसम्म ३ हजार १ सय ३ जना प्रभावित बनेका छन् । त्यसैगरी कास्कीमा २ हजार ८ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यसिगारी तनहुँमा २ हजार १ सय ७ जना, पर्वतमा १ हजार ५ सय ६२ जना, चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना रहेको र दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेको छ भने समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको बताईएको छ ।
यसअघि अघिल्लो वर्ष पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्ने लगायतका कार्यहरु गर्न आवस्यक पर्दछ ।