
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालत लगिदैछ । प्रहरीले शुक्रवार साँझ पार्टी कार्यालयबाटै पक्राउ गरेर पोखरा पुर्याईएको उनलाई आज अदालत लान लागिएको हो ।
लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो । शनिबार अदालत बन्द रहेकाले प्रहरीले लामिछानेलाई अनुसन्धानका लागि म्याद थप गर्न आज कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।
आज आइतबार म्याद थप गरेपछि प्रहरीले लामिछानेसँग बयान लिने र अनुसन्धान अघि बढाउने तयारी गरेको बताईएको छ । अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता हुन्छ ।
लामिछानेलाई कारागार राखेर अदालती प्रक्रिया अघि बढाउने कि पुर्पक्षका लागि कारागार पठाउने भनेर थुनछेक बहसहुने र थुनछेक आदेशमा लामिछानेलाई कारागार पठाउने कि बाहिर बसेर मुद्दा लड्न दिने निर्णय आउने बताईएको छ ।
यसअघि सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको थियो ।