
नेकपा माओवादी केन्द्रनिकट एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि झण्डै साढे आठ लाख रुपैयाँ सहयोग गरेको छ । समितिले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपहिरो प्रभावितका लागि आठ लाख ३८ हजार ३ सय ३९ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
समितिकाे इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रिय सदस्य डिबी क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्यसचिव टिबी पाठक, प्रदेश समिति सहसचिव दीपक पुन र सदस्य ईश्वर कठायतले चेक हस्तान्तरण गरेको जनाइएको छ ।
समितिले बाढीपहिरो पीडितको सहयोगका लागि आर्थिक सहायता अभियान चलाएको थियो । अभियानको क्रममा हालसम्म १३ लाख ७८ हजार ३ सय ३९ रुपैयाँ संकलन भएको हो ।
उक्त रकममध्ये ४० हजार रुपैयाँले बाढी पीडितलाई खाना खुवाइएको, पाँच लाख रुपैयाँ यसअघि नै बुझाइएकोमा फेरि बाँकी सम्पूर्ण रकम अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरिएको बताइएकाे छ ।