
आज नेपालीहरुको दोश्रो ठूलो पर्वको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार पर्व मनाइदै छ । कागलाई विभिन्न प्रकारका खानेकुरा दिएर कागको पूजा गर्दै काग तिहार मनाउने गरिन्छ ।
यमपञ्चकको नामले समेत परिचित यस पर्वमा पहिलो दिन कागको पूजा गर्ने प्रचलन रहेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको र बुधबार दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेकाले आज काग तिहार मनाउन सकिने बताईएको छ ।
कागलाई सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा पूजा गरिन्छ । कागलाई यमराजको सन्देश सुनाउने दूत समेत भन्ने गरिन्छ । कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ भने कागले भूकम्प लगायत प्राकृतिक विपत्तिको अग्रिम सूचना दिने समेत विश्वास गरिन्छ ।
त्यसैगरी अन्नबालीमा लाग्ने किरा-फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिन्छ भन्ने मान्यता रहेको छ । वैदिक सनातन परम्परामा कार्तिक कृष्ण त्रयोदशीका दिन मात्र नभई हरेक दिन आफूले बिहानको भोजन गर्नुअघि काग र कुकुरलाई खाना खुवाउनुपर्ने नियम समेत रहेको छ ।