Advertisement Banner
Advertisement Banner

१० मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

लोमश वाङ्मय प्रतिष्ठानको प्रथम काव्य सभा

२८ बुधबार , कार्तिक २०८१९ महिना अगाडि

लोमश वाङ्मय प्रतिष्ठानको प्रथम काव्य सभा

 -जयराम बिडारी  -   -   -   -

 कार्तिक २४ काठमाण्डौ लोमश वाङ्मय प्रतिष्ठानको पहिलो रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष माधव घिमिरे 'अटल'को अध्यक्षतामा कुटनीतिज्ञ,साहित्यकार तथा पूर्व जापानी राजदूत डा.विष्णुहरि नेपालको प्रमुख आतिथ्यमा सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी, घुम्ती कवि गोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, साउथ वेस्टर्न एकेडेमीक रिसर्च सेन्टरका अध्यक्ष हरिसिंह के.सी.तथा सेवा निबृत्त शिक्षक समाज नेपाल लमजुङका जिल्ला अध्यक्ष खुशीराम डौलिया तथा स्कलर्स होम एकेडेमीका प्राचार्य सूर्य पण्डितको आतिथ्यमा सोही एकेडेमीमा आयोजित कार्यक्रम सुसम्पन्न गरिएको थियो । 

प्रमुख अतिथिको भूमिकामा रहेका डा.विष्णुहरि नेपालले सर्जकहरुले चुनौतिहरुको पहाड नाघेर पनि सृजनात्मक सन्देश दिने ल्याकत राख्ने भएकाले संसारभर ती स्तुत्य रहने गरेको बताए । भागदौडको व्यस्त जीवनशैलीको बावजुद पनि नेपाली साहित्य भण्डारको श्रीबृद्धिका लागि लोमश वाङ्मय प्रतिष्ठान जस्तो संस्थामा आवद्ध रही भाषा, कला ,साहित्यको उन्नयनका लागि उल्लेखनीय उपलब्धि हाँसिल गर्ने कुरामा आशावादी रहेको बताउंदै लामो समय अमेरिकामा वेपत्ता रहेर हालै सम्पर्कमा आएकी आफ्नी छोरीलाई समर्पित गरिएको भावुक कविता सुनाउँदा महौल नै स्तब्ध भएको थियो ।

 सो अवसरमा विशेष अतिथि साउथ वेस्टर्न एकेडेमीक रिसर्च सेन्टरका अध्यक्ष हरिसिंह केसीले लोमश वाङ्मय प्रतिष्ठानको ऊर्जाशील टिमले साहित्यिक गतिविधिका कतिपय प्रचलनमा आमूल परिवर्तन गर्दै यसलाई उचाइमा पुर्‍याउने कुरामा आफू विश्वस्त रहेको बताए । यसैक्रममा घुम्ती कवि गोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठले नाम जस्तै फरक-फरक स्थानमा सञ्चालन गरिने घुम्ती कवि गोष्ठी विगत १४ वर्षदेखि निरन्तर रुपमा सञ्चालनमा रहेको भएपनि आफ्नो कार्यकालमा दर्ताको प्रकृयामा लगेर अविच्छिन्न उत्तराधिकारको रुपमा स्थापित गरिएको जानकारी गराउँदै हरेक महिनाको दोस्रो शनिवार बिहानको समयमा कार्यक्रम सञ्चालन गरिने जानकारी गराउँदै उपस्थित साहित्यिक मनहरुलाई नियमित सहभागीता जनाउन आग्रह गरे । उक्त कार्यक्रममा मार्क्सवादी चिन्तक तथा साहित्यकार कृष्णहरि भट्टले साहित्यकारहरुको लेखनले समाजका उपेक्षित वर्ग तथा भुईँ मान्छेको आवाज प्रस्तुत गर्नुपर्ने बताए । उनले अमेरिकी राष्ट्रपतिमा दोश्रोपटक विजयी भएका डोनाल्ड ट्रम्प र अमेरिकी प्रति व्यङ्ग्य गर्दै आफ्नो रचना वाचन गरेका थिए । सोही क्रममा स्कलर्स होम एकेडेमीका प्राचार्य सूर्य पण्डितले साहित्य आफ्नो रुचिको विषय भएपनि सिर्जनशील कर्ममा जुटेका साहित्यकारहरुलाई मञ्च उपलब्ध गराउन पाएकोमा आफैं समेत रचनात्मक कर्ममा सक्रिय भएको महसूस गरेको बताए । 

सभालाई सम्बोधन गर्दै अध्यक्ष माधव घिमिरे ‘अटलले’ संस्थाको गठन भन्दा पनि संस्थागत गतिशीलता चुनौतीपूर्ण रहने कुराको बोध भएपनि संस्थालाई फरक तरिकाले हाँक्ने मनसुवा रहेको बताएका छन् । उनले संस्थाले प्रत्येक महिनाको चौंथो शनिवार नियमित रहने रचना वाचनका कार्यक्रमलाई पारम्परिक रुपमा चलिरहेको प्रकृया भन्दा केही पृथक रुपमा सञ्चालन गरिने जानकारी गराउँदै आगामी कार्यक्रममा ‘आधा शताब्दी कृतिमाथि परिचर्चा गरिने बताए । सेही अवसरमा नियमित रुपमा कृति विमर्श गर्दै हरेक अंकमा गीत कविता मुक्तक लघुकथा ,गजललाई विशेष कार्यक्रमका रुपमा विकसित गरी सम्बन्धित विषयका विषयविज्ञहरुद्वारा विमर्श गरिने जानकारी दिएका छन् । साथै आगामी मङ्सिर ८ गते प्रतिष्ठानले खेमराज पोखरेलको हालसालै सार्वजनिक गरिएको लघुकथासङ्ग्रह 'एकालाप'माथि परिचर्चा आयोजना गर्न लागेको पनि कार्यक्रममा जानकारी गराए । 

कार्यक्रममा राधा दुलाल कार्की, उत्तम’विचार’ भेटवाल कृष्णहरि भट्ट, साधना पौडेल खुसीराम डौलिया, कमला घिमिरे अधिकारी,माधवलाल श्रेष्ठ,सत्या अधिकारी, अल्का मल्ल, भाग्यशाली अधिकारी, अप्सरा केसी, नवीन पल्लव, मुक्तान थेबा, हरिसिंह केसी,कमला घिमिरे, एन्जल नीलु,अनुप खनाल, माधव घिमिरे 'अटल', सुशान्त न्यौपाने जयराम बिडारी लगायतले रचना वाचन गरेका थिए । सो समारोहमा सूचक प्रकाशनका अध्यक्ष तथा सम्यक् सन्देशका सम्पादक दीपक भेटुवाल ‘दिपसागर’ बालसाहित्यकार तथा आख्यानकार केशरी अम्गाई, समेतको उपस्थिति रहेको थियो । दुई दर्जन भन्दा बढी साहित्यानुरागीहरुको समुपस्थिति रहेको उक्त कार्यक्रमको सहजकर्ताको भूमिका संस्थाका सचिव तथा माइण्ड प्लसका प्रवन्ध निर्देशक नवीन ‘पल्लव’ले कुशलतापूर्वक निभाएका थिए ।