Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

महानगरद्धारा एक दर्जन बालबालिकाको उद्धार

२९ बिहिबार , कार्तिक २०८१२ बर्ष अगाडि

महानगरद्धारा एक दर्जन बालबालिकाको उद्धार

काठमाडौं महानगरपालिकाले एक दर्जन बालबालिकाको उद्धार गरेको छ । महानगरले पछिल्लो दुई दिनमा ११ जना बालबालिकालाई जोखिमपूर्ण श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको हो ।

महानगरका अनुसार मंगलबार वडा नम्बर १, मा रहेको खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकको उद्धार गरियो । बुधबार वडा नम्बर २, खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुघार संघ नामक संस्थामा राखिएका दश जना बालक र एक जना बालिकाको उद्धार गरिएको हो ।

उद्धारपछि राष्ट्रिय बाल अधिकार परिषद्ले सबै बालबालिकाको अस्थायी संरक्षणको व्यवस्था मिलाएको महानगरले जनाएको छ । उनीहरुको पारिवारिक लेखाजोखा र मनोविमर्शका आधारमा पारिवारिक पुनर्मिलन तथा वैकल्पिक हेरचाहको प्रबन्धबारे निर्णय गरिने बाल संरक्षण अधिकृत सुनिता शाहले जानकारी दिइन् ।

उनले भनिन्, ‘लेखाजोखा र मनोविमर्शपछि प्राप्त हुने मनोसामाजिक प्रतिवेदनका आधारमा पारिवारिक पुनर्मिलन तथा वैकल्पिक हेरचाहको प्रबन्धमध्ये कुनमा लैजाने भन्ने निर्णय हुनेछ ।’ महानगरको हटलाइन नम्बरमा ती बालबालिकाको निकै नाजुक अवस्था रहेको, उनीहरुका नाममा अवैध चन्दा संकलनलगायत काम भइरहेको सूचना प्राप्त भएको थियो ।

त्यसपछि दुवै ठाउँमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा वडा नम्बर २, रहेको बेसहारा असहाय बाल सुधार संघले मासिक २२ हजार रुपैयाँ तलब दिने भनी १४ जना कर्मचारी भर्ना समेत पाइएको महानगरले जनाएको छ ।

‘उनीहरु प्रत्येकलाई फिल्डमा खटाउने गरिएको, फिल्डबाट दैनिक २ हजार १ सय रुपैयाँ अनिवार्य संकलन गर्नुपर्ने दायित्व दिएको देखियो,’ अनुगमन कार्यदलका सदस्य धिरज जोशीले भने । यस्ता गतिविधि गर्ने शंकास्पद व्यक्तिलाई प्रहरी वृत्त, महाराजगञ्जले नियन्त्रणमा लिई अनुसन्धान थालेको महानगरको भनाइ छ ।

यता, उक्त संस्था आर्थिक वर्ष २०७६÷०७७ देखि महानगरमा नवीकरण नभएको खुलेको छ । अनुमति नलिई गैरकानूनी रुपमा बालगृह सञ्चालन गरेको पाइएपछि राष्ट्रिय बाल अधिकार परिषद्ले संस्थामा रहेका बालबालिकाको उद्धार गरी सञ्चालनमा रोक समेत लगाएको थियो ।