Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

३० शुक्रबार , कार्तिक २०८१२ बर्ष अगाडि

आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

आज कार्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष झैँ गुरु नानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्तीको अवसरमा पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पन्जाब प्रान्तमा गुरु नानकको जन्म भएको थियो । ‘गुरु ग्रन्थ साहेब’ को रचना गरेका नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गरेका थिए भने गुरु नानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन्, यही नै सत्य हो’ भन्नेमा उनी विश्वास गर्थे ।

नानक जयन्तीका अवसरमा काठमाडौँको पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराउने परम्परा समेत रहेको छ । त्यस्तै पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम गरि गुरु नानकको जन्मजयन्ती मनाउने गरिएको छ ।

शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरु नानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिना भेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गरेका थिए ।