
तनहुँको व्यास नगरपालिका–१२ छिर्कने-देउराली सडकखण्ड सञ्चालनमा आएकाे छ । उक्त सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेसँगै सडक सञ्चालनमा आएकाे हाे ।
पृथ्वीराजमार्गअन्तर्गतको उक्त सडकखण्डमा छिर्कनेमा डाँडा काट्ने कामका लागि रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकाे थियाे भने हिँजाे सोमबारदेखि उक्त अवरोध हटेको हाे । बन्द गरिएकाे अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न समेत आग्रह गरिएको थियाे ।
गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ : ३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्काे सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् । रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको र उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउने बताइएकाे छ ।
मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण गरिएका छन् ।