
मानव बेचबिखनविरुद्धको अभियानकर्ता सामाजिक अगुवा सुनिता दनुवारको निधन भएको छ । उनी जोरपाटीस्थित आफ्नै निवासमा आज बिहान अचेत अवस्थामा रहेको र तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
सामाजिक अगुवा दनुवारको ४७ वर्षको उमेरमा निधन भएको हो भने उनको मृत्युको कारण अहिलेसम्म स्पष्ट भएको छैन । मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अधिकार र पुनर्स्थापनाका लागि काम गर्दै आएकी दनुवार सुनिता शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् ।
उनले सामाजिक योगदानको लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी थिइन् । दनुवारलाई सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले ‘टिप हिरो’ (मानव बेचबिखनविरुद्धको नायक) को रूपमा सम्मान गरेको थियो । त्यस्तै फर्च्युन म्यागेजिनले उनलाई विश्वका ५० विशेष नेतृत्वकर्ताहरूको सूचीमा समेत समावेश गरेको थियो ।