
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न ५१ औं महाधिवेशनबाट थापा निर्वाचित भएकी हुन् ।
जेसीजको ५१ औं महाधिवेशन मार्फत २०२५ का लागि अध्यक्ष बनेकी थापाले ७ सय ६२ मत प्राप्त गरेकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४ सय ५३ मत पाएका थिए । गएराति सम्पन्न मतगणनामा थापाले विजयी सुनिश्चित गरेकी हुन् ।
त्यसैगरी राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षका लागि ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै राष्ट्रिय उपाध्यक्ष पदमा १२ जनाले जित हासिल गरेका छन् । जसमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला, र मनिप्रसाद अर्याल लगायत रहेका छन् ।
महासचिव र कोषाध्यक्ष पद भने मनोनीत हुने व्यवस्था छ । अध्यक्ष निर्वाचित भएकी थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी थिइन् भने उनि उक्त निर्वाचनमा पराजित भएकी थिइन् ।
यसअघि सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेकी थापाले सन् २०२१ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको भूमिका निर्वाह गरिसकेकी छन् ।