
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पुष १२ गते शुक्रबार रातिदेखि बदली र वर्षा हुने बताइएकाे छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने भएकाे हाे ।
हाल कायम रहेको पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने र माैसमा बदलीसँगै वर्षा हुने सम्भावना रहेकाे हाे ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरिएकाे छ । माैसम बदलीसँगै चिसो क्रमशः बढ्दै जानेछ भने आकाश खुलेकाले बिहीबार र शुक्रबार न्यूनतम तापक्रम घट्ने र मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटे पनि चिसो बढ्ने बताइएकाे छ ।
महाशाखाका अनुसार आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउने बताइएकाे छ ।