
नेपाल प्रहरीका दुई सहायक हवलदार सहित सम्पर्कविहीन भएका ३० जना प्रहरीलाई ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूची सार्वजनिक गर्दै उक्त निर्देशन दिएको हो ।
प्रहरीको गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका-३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-५ का बुद्धिमान तामाङ रहेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूको खोजतलास गरेर प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो । उक्त तोकिएको अवधिभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।