
बाग्लुङको ढोरपाटन नगरपालिका-१, बुर्तिवाङमा ५० शैयाको अस्पताल सञ्चालन भएको छ । अस्पतालको सेवा प्रारम्भ गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले ५० शैयाको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको बताएका छन् ।
विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
यसअघि वि.सं. २०६४ सालमा जिल्ला अस्पतालमा स्तरोन्नतिका लागि ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण आरम्भ भएको थियो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने उल्लेख गरेको थियो ।
हाल अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।