
आज बिहान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा आपतकालीन उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ । दुर्घटना भएको जेजु एयरमा १ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेकोमा उद्धार गरिएका २ जना बाहेक १ सय ७९ जनाको मृत्यु भएको हो ।
दुर्घटनाग्रस्त जेजु एयरको विमान १ सय ८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको र दक्षिण कोरियाको दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
जेजु एयरको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो भने विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक रहेको बताइएको छ । आपत्कालिन सेवाका अधिकारीहरूले उद्धार गरिएका बाहेक सबैको ज्यान गएको जनाएका छन् ।
विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किदा विमानमा आगो लागेको थियो । दुर्घटनाको कारण स्पष्ट भइनसकेको भएपनि चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको बताइएको छ ।