
शिक्षामा सुधार गर्न सहकार्य, समन्वय र सहअस्तित्व आवस्यक रहेकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताएकी छन् । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विराटनगरमा आयोजना गरेको शिक्षा व्यवस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले उक्त कुरा बताएकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले अहिले भएको शिक्षा ऐन र शिक्षा नीतिबाट पनि धेरै काम गर्न सकिन बताइन् । उनले संघीय शिक्षा ऐन छलफल प्रक्रियामा अघि बढी सकेकोले चाँडै आउनेमा आशावादी रहन समेत आग्रह गरेकी छन् । अहिले शिक्षा क्षेत्र समस्या ग्रस्त भएकाले कानुन आवश्यक रहेको र कानुन बनाउन खोजेको बताउँदै कानुनसँगै व्यवहारिक पक्ष पनि बलियो बनाउनु पर्ने उनको भनाइ रहेकाे थियो ।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय शिक्षा ऐन चाँडो ल्याउन आग्रह गर्दै संघीय सरकारले छिटो छरितो ढंगले कानुन नबनाउँदा समग्र शिक्षा क्षेत्र नै प्रभावित भइरहेको धारणा राखेका थिए । उनले प्रदेशले सात दिनमा बनाउन सक्ने कानुन संघले सात वर्षमा पनि बनाउन नसकेकाे भन्दै चाँडै कानुन बनाएर शिक्षा क्षेत्रकाे अन्याेल हटाउन पर्ने धारना राखेका थिए ।