
काठमाडौंका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत अवरुद्ध भएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गत लाइन भूमिगत गर्ने काम शुरु भएसँगै बिहिबारदेखि पुस २६ गतेसम्म विद्युत बन्द गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणअन्तर्गत काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले एक सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द रहने जानकारी दिएको छ । जसअनुसार बिहिबार फिकल चोकदेखि बाबा चोकमा विद्युत आपूर्ति प्रभावित हुने छ ।
त्यस्तै, शुक्रबार त्रिभुवन विश्वविद्यालय वरपर, पुस २१ गते कीर्तिपुर रिङरोड, २२ गते कलंकीदेखि थानकोट, २३ गते महादेव खोला पुलदेखि तीनकुने, २४ गते त्रिभुवन विश्वविद्यालय आसपास, २५ गते स्युचाटार वरपर र २६ गते महादेव खोला पुलदेखि तीनकुने क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने सूचनामा उल्लेख छ ।