
खुर्सानीको बोराभित्र लुकाएर लागूऔषध ल्याउने एकजना पक्राउ परेका छन् । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ भन्सार ईलाकाबाट लागूऔषधसहित अन्दाजी ३६ वर्षिय मिश्री रामलाई पक्राउ गरिएको हो ।
विभिन्न किसिमका लागूऔषध खुर्सानीको बोराभित्र लुकाएर ल्याउनेक्रममा सोमबार सशस्त्र प्रहरीले पक्राउ गरेको बताइएको छ । उनी पर्सा जिल्लाको बहुदमाई गाउँपालिका–३ नगरदाहा निवासी हुन् ।
भारतबाट पैदल आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले उनलाई प्रकाउ गरेको जनाइएको छ । उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजापाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको थियो ।
पक्राउ परेका रामलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको प्रहरीले जनाएको छ ।