
गएराति बझाङमा भएकाे दुई छुट्टाछुट्टै जिप दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । बझाङको तलकोटबाट चैनपुरतर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार हिँजाे बिहिबार साँझ साढे आठ बजेतिर तलकोट गाउँपालिका-२, सुकगाडमा जीप दुर्घटना भएको हो । दुर्घटनामा परेकाे जीप सडकबाट २ सय मिटर तल खसेको छ ।
दुर्घटनामा परी ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लानेक्रममा बाटैमा मृत्यु भएको बताइएकाे छ । दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका-१ का ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका-४ का ७२ वर्षीया जोगेनीदेवी धामी र पाँच वर्षीया बालिका आकृती धामीको मृत्यु भएको छ ।
त्यस्तै बझाङमै भएकाे अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । राति ९ बजे मष्टाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्रित भएर सडकबाट १०० मिटर तल खस्दा चालक ४२ वर्षिय धर्म थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार जिपमा चालक थापा एक्लै रहेको बताइएकाे छ ।