
मौसमका खराबी कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ । आज बिहानदेखि मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको थिएन् । काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको बताइएको छ । तर, आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन सकेको छैन ।
भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव रहेकाले सोमबार र मङ्गलबार बदली र वर्षाको सम्भावना रहेको बताइएको छ ।