Advertisement Banner
Advertisement Banner

०६ सोमबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

जाडो बिदामा शिक्षकलाई तालिम दिइने

२१ आइतबार , पौष २०८१४ महिना अगाडि

जाडो बिदामा शिक्षकलाई तालिम दिइने

काठमाडौं महानगरपालिकाले जाडो बिदामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई क्षमता विकास तालिम दिन थालेको छ । महानगरको ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई जाडो बिदाका समयमा तालिम दिन थालिएको हो ।

महानगरका सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नुपर्ने भएकाले तालिम सञ्चालन गर्न लागेको बताए । उनका अनुसार शैक्षिक क्रियाकलापमा असर नहुने गरी बिदाको समय उपयोग गर्न लागिएको हो ।

तालिममार्फत शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य महानगरको छ । जसअन्तर्गत आज र भोलि कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयलाई शिक्षकलाई तालिम दिइँदैछ ।

त्यसपछि पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान र अर्थशास्त्रलगायत विषयमा सिकाई कक्षा हुने महानगरले जनाएको छ । एसईईलक्षित सिकाईमा अवस्थाअनुसार विद्यार्थीको वर्गीकरण गरिनेछ ।

सिकाई प्रविधि, शिक्षण प्रबन्ध प्रणाली, समूहगत, परियोजना कार्यमा आधारित ढाँचामा हुनेछ । यस्तै, पुस २४ गतेदेखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाई र शिक्षामा सिप कार्यक्रमसँग सम्बन्धित फोकल शिक्षकहरुलाई तालिम दिइनेछ ।

माघ ५ गतेदेखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र क्यारियर गाइड म्यापिङ तालिम हुने महानगरले बताएको छ । पुस २३ गतेदेखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ता र माघ २ गतेदेखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कनसम्बन्धी तालिम हुनेछ ।

रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम भने पुस २४ गतेदेखि माघ ८ गतेसम्म हुनेछ । यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवैमा सकारात्मक नतिजा ल्याउने भएकाले तालिममा सहभागी हुन महानगरले आग्रह गरेको छ ।

महानगरअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा गत पुस १८ गतेदेखि जाडो बिदा शुरु भएको हो । बिदा माघ ८ गतेसम्म रहेको छ ।