
आज पुष २१ गतेका दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका अधिकांश स्थानमा बदली भएको हो ।
अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको महाशाखाले जनाएको छ । भरे बेलुकी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने पनि महाशाखाको भनाई रहेको छ ।
आजभन्दा भोलि सोमबार बढी बदली हुनुका साथै वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ भने सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
मुलुकभर पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव भोलि र पर्सि रहने भएकाले बदली र वर्षाको सम्भावनासंगै हिमाली क्षेत्रमा हिमपात समेत हुने महाशाखाले उल्लेख गरेको छ ।