
तोकिएको समयमा काम सम्पन्न नगर्ने झण्डै डेढ दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले सात दिने स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने १६ निर्माणकर्तालाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण दिन साेधेको हो ।
अन्यथा, कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ । स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा सोहन–आबा जेभी, आरएसए कन्स्ट्रक्सन, एसएम कन्स्ट्रक्सन, मनकामना सप्लायर्स, बिएण्डबि स्टार कन्सट्रक्सन, साइन हब प्रालि, सनम–निर्जरा जेभी, माडी कन्स्ट्रक्सन प्रालि, न्यून चौधरी टेडर्स छन् ।
त्यस्तै, आदिमी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, प्रबल कुशल निर्माण सेवा, रामेछाप माझी कन्स्ट्रक्सन, कमल कन्स्ट्रक्सन, राज कन्स्ट्रक्सन, एसियन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सुलटेन्सी र राना फर्निचर सःमिल उद्योगलाई पनि स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।
तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए ती निर्माण व्यवसायीलाई कानूनबमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।