
ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित भाडाको घरमा अवैध कल सेन्टर संचालन गर्ने ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २ जना भारतीय नागरिक सहित ५३ जनालाई पक्राउ गरेको हो ।
भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा अवैध कल सेन्टर संचालन गर्दै आएको बताइएको छ । उनीहरुले नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैर कानूनी काममा लगाएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट ल्यापटप ८५ थान, मोबाइल ९६ थान लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरू पनि प्रहरीले बरामद गरेको बतइएको छ । उक्त कल सेन्टरबाट सिंघम लोटरी, अन्ना लोटरी, भाउ लोटरी र इण्डसबेट लोटरी लगायतका ग्याम्ब्लिङ एप्सहरूको दुरुपयोग गरी ह्वाट्सएपमार्फत कुराकानी गरी विभिन्न डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाई सट्टाबाजी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये दुई जना भारतीय नागरिकसमेत ७ जना उपर सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने बाँकि ४६ जनालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।