
परराष्ट्र सचिवमा अमृतबहादुर राईले पदभार ग्रहण गरेका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई परराष्ट्र सचिवमा नियुक्त गरेसँगै हिँजाे बुधबार राईले पदभार ग्रहण गरेका हुन् ।
वरिष्ठताका आधारमा परराष्ट्र सेवाका सहसचिवमध्ये राई सचिवमा बढुवा भएर नियुक्त पाएका हुन् । यसअघि परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत नियुक्त भएपछि उक्त स्थान रिक्त रहेको थिायाे ।
परराष्ट्र सचिवमा नियुक्त भएका राई यसअघि २०७५ सालमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका थिए भने उनी न्युयोर्कमै काउन्सिलरको रुपमा पनि कार्यरत थिए । राई यसअघि दक्षिण अफ्रिकाको राजदूत समेत भइसकेका छन् ।
सन् १९९६ मा निजामती सेवामा प्रवेश गरेका उनी २००५ मा उपसचिवका रूपमा नेपाल परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले दक्षिण एसिया, युरोप र अमेरिकामा केन्द्रित डिभिजन, योजना र अनुगमनलगायत परराष्ट्र मन्त्रालयमा वरिष्ठ भूमिका निर्वाह गरेका छन् ।
सन् १९७० मा संखुवासभा जिल्लामा जन्मिएका राईले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा समेत काम गरिसकेका छन् ।