
जुम्लामा नागरिकताको लागि अनलाइनमार्फत सिफारिस सेवा संचालन हुने भएको छ । यहि २०८१ माघदेखि जिल्लाको आठवटै स्थानीय तहमा उक्त सेवा संचालनको तयारी गरिएको हो ।
उक्त सेवा संचालनमा आएपछि नागरिकताको प्रमाण पत्र लिन अनलाइनमार्फत सिफारिस लिन सकिने छ । जिल्लाका आठवटै स्थानीय तहमा उक्त सेवा संचालन गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिएका छन् ।
जिल्लामा यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखको बैठक बसी अनलाइनबाट सिफारिस गर्ने विषयमा छलफल भइसकेको बताइएको छ ।
गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको र अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन कर्मचारीलाई आवश्यक तालिम दिइने पनि प्रजिअ शाहीले जनाएका छन् ।
यसअघि कैलाली, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी र स्याङ्गजामा यो सेवा लागु भइसकेको छ भने यो सेवा सुरु गर्ने जुम्ला पाँचौं जिल्ला बन्ने छ ।