
चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म चल्ने उक्त मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।
पुष महिनाको अन्तिम र माघे सङ्क्रान्तिको अघिल्लो दिनदेखि माघ महिनाभर मेला लाग्ने तीर्थस्थल देवघाटधाममा विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजन बढी आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
उक्त मेलाका लागि समितिका अध्यक्ष भीमबहादुर रानाको अध्यक्षतमा १ सय ५१ सदस्यीय मेला व्यवस्थापन मूल समारोह समिति गठन गरीएको बताइएको छ । त्यस्तै अध्यक्ष रानाका अनुसार मेलालाई व्यवस्थित गर्न २२ वटा उपसमिति गठन गरी काम भईरहेको छ ।
उक्त मेलामा सङ्क्रान्तिको दिन ५ लाख भक्तजन आउने अनुमान गरी सोहीअनुसार तयारी गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले जनाएका छन् । निर्देशक बरालका अनुसार मकर मेलाको एक महिने अवधिभर महामहोत्सव लाग्ने भएकाले उक्त अवधिभर ८ लाख भक्तजन आउने अनुमान गरिएको छ ।
मेलाका लागि डुङ्गाको शुल्क निर्धारण, चितवन र देवघाट जोड्ने झोलुङ्गे पुल मर्मत, अस्थायी शौचालय निर्माणलगायत काम सकिएको छ भने नदीमा स्नान गर्नेका लागि रेखाङ्कनको काम भइरहेको छ ।
गोसाइँकुण्ड र मुक्तिनाथबाट आएको त्रिशुली र कालीगण्डकी दोभान देवघाटमा माघेसङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने जनविश्वास रहेकाले उक्त दिन देवघाटमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।