
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको उपचारको क्रममा निधन भएको छ । कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि ग्रान्डी अस्पतालमा उपचार गराई रहेका शेर्पाको गएराति ग्रान्डी अस्पतालमा निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी ठेगाना भएका ६४ वर्षीय शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उपचारकै क्रममा निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका-१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरेका छन् ।
केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय फोटोग्राफर शेर्पाको दुई छोरा र तीन छोरी छन् । शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए भने पर्यटन व्यवसायमा आबद्ध उनी चौंरीखर्कको पूर्व गाविस अध्यक्ष समेत हुन् ।
लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए ।