
शिक्षक सेवा आयोगमा सदस्य नियुक्तिका निम्ति दरखास्त आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै आयोगमा रिक्त वा रिक्त हुन लागेको एक महिलासहित दुई जना सदस्य नियुक्तिका निम्ति आवेदन आह्वान गरेको हो ।
मन्त्रालयले ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको बैठक र छनौटसम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरेको जनाउँदै इच्छुक व्यक्तिलाई आगामी पन्ध्र दिनभित्र आवेदन पेश गर्न भनेको छ ।
उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, नियुक्ति हुनुभन्दा कम्तीमा दुई वर्षअघिदेखि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, ४० वर्ष उमेर पुरा भई ६५ वर्ष ननाघेको र कानून, शिक्षा वा प्रशासन क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको हु्नुपर्ने जनाइएको छ ।