
आज देशव्यापी रूपमा विविध कार्यकमकाे आयाेजना गरी २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । देशव्यापी रूपमा ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएकाे हाे ।
विसं १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हाे । त्यस दिन ८.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएकाे थियाे ।
उक्त विसं १९९० को भूकम्पमा परी ८ हजार ८ सय १९ जनाले ज्यान गुमाएका थिए भने ८० हजार घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार २ सय ४८ संरचना भत्किएका थिए ।
त्यसपछि विसं २०७२ सालकाे विनासकारी भूकम्पमा परी ८ हजार ६ सय ७० जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पले ७ लाख भन्दा बढी आवासमा क्षति पुर्याएकाे थियो ।
त्यस्तै विसं २०८० साल कात्तिक १७ गते जाजरकोटमा गएकाे भूकम्पमापरि १ सय ५३ जनाको मृत्यु भएको थियो भने त्यसपछि बेलाबेलामा निरन्तर जस्तै सानासाना भूकम्पहरू गइरहेका छन् ।