
काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) मा रिक्त हुन लागेको कार्यकारी निर्देशक नियुक्तिका निम्ति प्रक्रिया अघि बढाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान गरेको हो ।
अहिले अस्पतालको कार्यकारी निर्देशक प्रा.डा.विधान निधि पौडेल छन् । उनको पदावधि आउँदो फागुन अन्तिममा सकिँदैछ । मन्त्रालयले निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ र नियमावली, २०७७ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी पन्ध्र दिनभित्र आवेदन दिन भनेको छ ।
उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सोही क्षेत्रमा कम्तीमा राजपत्राङ्कित द्धितीय श्रेणी वा सोसरहको पदमा काम गरेको हुनुपर्ने छ ।
त्यस्तै, उमेर ४५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ । आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम एवं अन्य कागजातको प्रतिलिपि बुझाउनुपर्ने जनाइएको छ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ ।