Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ठगको जालाेबाट जोगिन कर्मचारीदेखि सर्वसाधारणलाई प्रहरीको अनुरोध

११ शुक्रबार , माघ २०८१एक बर्ष अगाडि

ठगको जालाेबाट जोगिन कर्मचारीदेखि सर्वसाधारणलाई प्रहरीको अनुरोध

बैंक तथा वित्तिय संस्थाबाट बोलेको भन्दै सरकारी कर्मचारीदेखि आम सर्वसाधारणलाई फोन, म्यासेज गरेर ठगी गर्ने क्रम बढेपछि प्रहरीले सचेत गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले एक सूचना जारी गर्दै सम्बन्धित संस्थाको लोगो समेत दुरुपयोग गरेर सामाजिक सञ्जालका विभिन्न माध्यममार्फत ठगी गर्ने क्रम बढेकाले सचेत रहन आग्रह गरेको हो ।

‘केही दिनयता सामाजिक सञ्जालहरु जस्तैः फेसबुक, इन्ट्राग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर, इमोलगायत सोसल प्लेटफर्म तथा इसेवा, खल्तीजस्ता वालेट तथा बैंक वित्तिय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरुबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आम सर्वसाधारणहरुलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने गरेका घटनाहरु बढिरहेको छ,’ सूचनामा उल्लेख छ ।

प्रहरीका अनुसार सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति बोलेको दाबी गर्दै ओटीपी नम्बर माग्ने वा वालेटमा भएको पैसा बैंक खातामा ट्रान्सफर गर्न लगाइन्छ । त्यस्तै, सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने मेसेज, लिंक पठाउने र उक्त लिंक खोल्नेबित्तिकै पासवोर्डमा पहुँच पुर्याएर रकम ठगी गरिने प्रहरीको भनाई छ ।

‘अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साईटहरु खोली सामानको आकर्षक फोटो, भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्युआर र बैंक खातामा रकम माग गर्ने रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन भई ठगी गर्ने,’ प्रहरीले भनेको छ ।

यस्ता कार्यमा हालसम्म पाँच सयभन्दा बढी संदिग्ध फोन नम्बरहरु सक्रिय भएको पाइएको जानकारी दिँदै प्रहरीले अपरिचित नम्बरबाट आएका फोन तथा मेसेजहरुकाे रिप्लाई नगर्न अनुरोध गरेको छ ।