
काठमाडौँको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले थानकोट-धुलिखेल सेवा शुभारम्भ गरेको छ । २०८१ माघ १० गतेदेखि महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको हो ।
काठमाडौँमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा शुरु गरेको महानगर यातायातले टाटाका थप ४० वटा बस सञ्चालनमा ल्याएको बताइएको छ । थानकोट-धुलिखेल सेवा अन्तर्गत सञ्चालन भएको सेवा थानकोट गोदामबाट धुलिखेल अस्पतालसम्म पुग्नेछ ।
बस थानकोट गोदाम-चेकपोष्ट-सतुङ्गल-कलंकी-सानेपा-सातदोबाटो-कोटेश्वर-भक्तपुर-बनेपा-धुलिखेल हुँदै चल्ने बताइएको छ । नयाँ बस थपिएसँगै अव महानगर यातायातका बस ८९ पुगेको प्रालिले जनाएको छ ।
काठमाडौँमा सम्पन्न कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको थियो । महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाका अनुसार नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटमा पनि सेवा विस्तार गरेको बताइएको छ ।
महानगर यातायातले काठमाडौँको चन्द्रागिरि, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चोकको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुलाई सेवा दिन थालेको खतिवडाले बताएका छन् । उनले महानगर यातायात प्रालिले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको समेत जानकारी गराएका छन् ।
त्यस्तै खतिवडाले महानगरपालिकाले छिटै १० वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरिरहेको पनि जानकारी दिएका छन् ।