
दाङको तुलसीपुरस्थित एनएमबी बैंकमा चोरी गर्न गएका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर-१८ दुधराशका २७ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन् ।
हिँजो माघ १२ गते शनिबार राति एनएमबी बैंकमा चोरी गर्न खोजिरहेका ती युवकलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका अनुसार राति करिब २ बजे चौधरीले बैंकको गेटको ताला तोडेर भित्र छिरेको सूचना पाएलगत्तै प्रहरी निरीक्षक बिनोदराज खत्रीको नेतृत्वमा गएको टोलीले उनलाई चोरीका उपकरणहरूसहित पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका चौधरीको साथबाट ताला तोड्ने हथौडा, छिना, र पिलास फेला परेको थियो भने उनले प्रयोग गरिएको रा ५ प ९७९ नम्बरको स्कुटर पनि बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका चौधरीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।