Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

पूर्वी तराईमा शीतलहर जनजीवन प्रभावित

१५ मंगलबार , माघ २०८१४ महिना अगाडि

पूर्वी तराईमा शीतलहर जनजीवन प्रभावित

पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु लागेर शीतलहर र चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर तापक्रम घट्दै गएकाले चिसो बढेसंगै जनजीवन प्रभावित भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले देशको विभिन्न भूभागका साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको बताएको छ । महाशाखाका अनुसार पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको हो ।

चिसो र शितलहरका कारण बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको बताइएको छ । साँझपख चाँडै चिसो बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेको सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले जनाएका छन् ।

चिसो र शितलहर बढेपछी न्यानो कपडाका पसलमा ग्राहकको भीड बढेको छ भने केही सर्वसाधारण चिसोबाट जोगिन दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य भएका छन् । त्यस्तै चिसोसँगै केही नदेखिने गरी हुस्सु लाग्दा सवारीसाधन चलाउन समेत समस्या भएको बताइएको छ ।  

जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगीको चाप बढेको छ भने चिसोसँगै दम, निमोनिया, रूघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार बाक्लो हुस्सु लागेपछि  खराब मौसमका कारण हवाई उडान सेवा प्रभावित हुन थालेको छ ।