
नवलपरासीको त्रिवेणीधाममा माघे औँसी स्नान गर्नेको घुइँचो लागेको छ । उक्त स्थानमा मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट समेत भक्तजन आएकाले स्नान गर्नेको घुइँचो लागेको हो ।
आज बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । माघे औँसीका दिन विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएको कुरा पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास समेत रहेको छ ।
उक्त मेलालाई व्यवस्थित गर्न विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था सहित सशस्त्र प्रहरी बलसहितको सुरक्षाकर्मीको टोली परिचालन गरिएको बताइएको छ । त्यस्तै श्रद्धालुहरु गएराति जागा भएर आज स्नानपछि पूजाअर्चना गरेर गन्तव्यतर्फ फर्किन सुरु गरेको बताइएको छ ।