
तराईका विभिन्न क्षेत्रहरूमा केहि दिन देखिको शितलहर र चिसोको कारण जनजीवन प्रभावित भएको छ । मधेस प्रदेशको जनकपुरधाम लगायत तराईका विभिन्न क्षेत्रमा शितलहर र चिसोका कारण जनजीवन प्रभावित बनेको हो ।
गतराती चलेको चिसो हावा र शितको वर्षाले जनकपुरधाम क्षेत्रमा अत्यधिक चिसो बढेको छ । अत्याधिक चिसो बढेको र घाम नलागेका कारण ग्रामीण जनजीवन ठप्प हुनुका साथै दैनिक ज्यालादारी र मजदुरी गर्नेहरू मारमा परेको बताइएको छ ।
बिहान १० बजेसम्म हुस्सु लाग्ने र दिउँसो मात्रै खुल्ने हुँदा मधेसको जनजीवन प्रभावित बनेको हो । अहिलेको मौसमले बालबालिका, बृद्ध, दीर्घरोगीहरूलाई बढी असर परेको छ भने जनकपुरमा विमानहरूले उडान भर्न समेत नसकेको बताइएको छ ।
स्थानीयहरू आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् भने आगो बाल्दा आगोले पोल्ने समस्या हुनुका साथै दुर्घटनाको जोखिम पनि उतिकै रहेको सथानियाको भनाई रहेको छ ।