
कैलाली जिल्लाकाे गोदावरी नगरपालिका-११ गोठानमा आमा र दुई वर्षीया छोरी मृत अवस्थामा फेला परेका छन् । हिँजाे साँझ २४ वर्षीया मिरा कामी र उनकाे दुई वर्षीय छोरी प्रिन्सी घरमै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहराका अनुसार आमा छोरी घरमै झुन्डिएको अवस्थामा भेटिएका हुन् । मृतक मिराका श्रीमान रोजगारको सिलसिलामा भारतमा रहेकाे र घटना भएकाे समयमा उनकी सासु पनि घरमा नभएको प्रहरीले जनाएको छ ।
घरमा काेही नभएकाे अवस्थामा झुन्डिएको देखेपछि परिवारका सदस्य नरेश बिकले प्रहरीलाई खबर गरेका थिए । हाल दुवैजनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।