
गुल्मीको रिडी-बल्कोट सडक एक महिनाका लागि बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गतको उक्त सडकखण्डको रुरुक्षेत्र गाउँपालिका-१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएको हो ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले एक सूचना जारि गर्दै आज माघ २६ गतेदेखि फागुन २० गतेसम्म उक्त सडक बन्द गरिएको जानकारी गराएको हो । सडक मर्मतको समयमा जोखिम हुनसक्ने भएकाले केही समय वैकल्पिक सडक प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।
वैकल्पिक मार्गका रूपमा सातमुरेदेखि-श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि-सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि-ठाडो खोला हुँदै रिडी सडक प्रयोग गर्न पनि कार्यालयले जनाएको छ ।
त्यस्तै आवश्यक समन्वय र सहजीकरण गर्न गुल्मी र अर्घाखाँची जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य संघ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई कार्यालयले आग्रह गरेको छ ।