
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३४ औँ स्थापना दिवस मनाउँदैछ । सुशासन प्रवर्धनसम्बन्धी विविध कार्यक्रमकाे आयाेजना गर्दै आयोगको ३४ औँ स्थापना दिवस मनाउन लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलकाे प्रमुख आतिथिथ्यतामा आयोगको टङ्गालस्थित कार्यालयमा ३४ औँ स्थापना दिवस मनाउन तयारी गरिएकाे हाे । भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्ने प्रवधान रहेकाे छ ।
आयोगको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार ९ सय १८ उजुरी दर्ता भएकाे बताइएकाे छ । गत वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ गरी ३६ हजार १ सय ८६ उजुरीमध्ये कूल २७ हजार ७ सय १४ फछर्याैट भएकाे आयोगले जनाएको छ ।